ऐतिहासिक श्री गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी स्वरूप साइकल र्‍यालीको आयोजना गरिएको छ। 
गण्डकी कोटिहोमको प्रचार स्वरूप साइकल र्‍यालीको आयोजना गरिएको हो। मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका– १७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्‍यालीको आयोजना गरिएको हो।
बिरौटा कोटीहोम स्थलबाट सुरु भएको र्‍याली ड्यामसाईड–लेकसाइड हुँदै हल्लनचोक–जिरो किलोमिटर–मालेपाटन–बाग्लुङ्ग बसपार्क, बिन्दवासिनी मन्दिर–भैरवटोल–नालामुख, महेन्दपुल–चिप्ले ढुङ्गा, न्यूरोड–सभा गृहचोक साथै पृथ्वीचोक–नागढुङ्गा–पुरानो एयरपोर्टलगायतका स्थानहरूको परिक्रममा गरी कोटिहोम स्थलसम्म पुगेको थियो। 
स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्‍यालीले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण वर्ष २०२५ को विकासमा टेवा पुर्‍याउन र्‍याली गरिएको महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमुर्ति महाराजले बताए।
फाउण्डेशनले यही वैशाख १२ गते मोटरसाइकल र्‍याली, वैशाख १३ गते ट्याक्सी र्‍याली, वैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली गर्दै वैशाख १६ गते बृहत् कलश यात्रा समेत गर्ने भएको छ।