नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेको बताएको छ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नी सापकोटाले शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग माग समेत गरे। साथै आउँदो १२ गतेदेखि संसद् अधिवेशन नहुने पनि माओवादीको दाबी छ।
उनले भने, ‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन्। तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नु भन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन्। आउँदो १२ गतेदेखि संसद् अधिवेशन हुँदैछ। शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौँ।’
त्यस्तै, वर्तमान सरकार प्राविधिक रूपमा अस्तित्वमा रहेपनि राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको पनि माओवादीको भनाई छ।
‘वर्तमान सरकार प्राविधिक रूपमा त अस्तित्वमा छ राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको छ। यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन। वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन।’ उनले भने।
वर्तमान दुई दलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र नभई सुशासन कायम गर्न लागेका अधिकारीहरूलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको माओवादीको आरोप छ।
उनले भने, ‘वर्तमान दुई दलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र छैन, सुशासन कायम गर्न लागेका अधिकारीहरूलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ। आफ्ना मान्छेको निर्लज्ज ढङ्गले संरक्षण गर्ने, विपक्षहरूप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्गला नै खडा गरेको छ। यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रिय हित विपरीत छन्।’
यसैगरी, भारतको जम्मू–कश्मिरमा भएको आतङ्कवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति माओवादीले घोर भर्त्सना पनि गरेको छ।