शतकुण्डीय कोटिहोमका निर्देशक शकंर खरालले पोखरामा भइरहेको कोटिहोमले विश्व समुदायमा पर्यटकीय हिसाबले उत्कृष्ट फाइदा पुर्याउने बताएका छन्।
उनले अहिले विश्वका करोडौँ मानिसहरूले पोखराको गतिविधि नियालिरहेको भन्दै यसबाट पोखरावासीले फाइदा लिनुपर्ने बताएका हुन्।
उनले भने, ‘पोखराको विकास गर्ने हो भने पर्यटनको विकास बाहेक अर्को विकल्प छैन। पोखराको आफ्नो उत्पादन छैन यो क्षेत्र पर्यटन हब हो। त्यस कारण यो कोटिहोम पोखराको पर्यटकीय प्रवर्द्धनमा विजयकृष्ण महाराजको सङ्कल्प गर्नुका साथै यहाँका बासिन्दाले पनि त्यसको फाइदा लिनुपर्छ। देवी प्रतिभा पोखरामा हुँदा पोखराको गतिविधि दैनिक ५५ लाख जनाले हेरिरहेका छन्। उहाँको कारण पनि विश्वमा पोखराको विश्वव्यापी प्रचारप्रसार भइरहेको छ। शंकरा आचार्य जी आउँदै हुनुहुन्छ उहाँ आउँदा करोडौँले उहाँको गतिविधि हेर्नेछन्।’
उनले पछिल्लो समय मोदी मुक्तिनाथ जाँदा भारतीय पर्यटकको सङ्ख्या बढेको भन्दै यो कोटिहोमले पनि राम्रो प्रभाव पार्ने बताए।
‘पोखराको पर्यटन प्रवर्द्धनमा यो कोटिहोमले पोखरावासीलाई अरबौँको नाफा दिएर जान्छ। यो कालान्तरलाई हुन्छ। पछिल्लो समय मोदी मुक्तिनाथ जाँदा ३०० गुणा भारतीय पर्यटकको सङ्ख्या बढेको थियो। त्यसैगरी, भारतबाट वा अन्य क्षेत्रबाट कथा वाचकहरू आउँदा राम्रो प्रभाव पार्छ।’
उनले वैशाख १६ गते ११ हजार कलशसहित ऐतिहासिक विशाल कलश यात्रा गरिने बताए। कलश यात्रा पोखराको शान्तिघाटबाट सुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुँदै कार्यक्रम स्थलमा पुग्ने उनले जानकारी दिए।
उनले १७ गते कोटिहोम कैलाशचन्द्र सरस्वती महाराजले उद्घाटन गर्ने पनि बताए।