मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर बेलका नगरपालिका–४ की करिब ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक इटहरी उप-महानगरपालिका–४ का करिब ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।
झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बस ले विपरीत दिशाबाट आइरहेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
प्रहरीका अनुसार मृतक र घाइते दिदी–भाइ हुन्। बस चालक झापा कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।