वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरूमा धेरै नै असर पारेको बताएका छन्।
‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न सरकारले एनडिसी–३ निर्माण गरिरहेको बताए।
उनले भने, ‘जलवायु परिवर्तनले हिमाली देशहरूमा धेरै नै असर पारेको छ। जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौँ। यसले सबै असरहरूलाई न्यूनीकरण र अनुकरण गर्नेछ।’
साथै उनले वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरूमा छलफल गरेर अगाडि बढाइसकेको बताए। सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताए।
उनले भने, ‘अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० जो बनाइरहेको छ यसमा सम्पूर्ण सबै सरोकारवाला र राय, सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरू र निकायहरूमा छलफल पनि अगाडि बढिसकेको छ। सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौँ।’