मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
वैशाख ६ गते बिहान मोरङको उर्लाबारी-८ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-४०प ७८८१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० वर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो।
सोही दिन सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गको पानी पिया जङ्गलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०३०च ४६१८ नम्बरको कार आफै अनियन्त्रित भई रुखमा ठक्कर लागि दुर्घटना हुँदा घाइते भएका कारमा सवार इटहरी-१ का ४० वर्षीय विष्णु राउतको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो।
यसैगरी, ताप्लेजुङको फक्तालुङ-६ स्थित भित्री सडक खण्डमा मे.१त ७७५८ नम्बरको गोलिया बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार फाक्तालुङ-६ का २६ वर्षीय भुछिरिङ शेर्पाको घटना स्थलमा नै मृत्यु भएको हो।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ।