शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन जारी छ। 
नेपाल शिक्षक महासङ्घको आह्वानमा गत २० चैतदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा नै छन्। आन्दोलन आज शुक्रवार १७ औँ दिन पुगेको छ। 
शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन्। उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन्।
यसबीच सरकार र महासङ्घका पदाधिकारी–प्रतिनिधिबिच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन। शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरूलाई एकद्वार प्रणाली अनुरूप गर्नुपर्ने लगायत माग छन्।
आन्दोलनका कारण सडकमा सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ। शिक्षकहरूले आन्दोलनका क्रममा नृत्य, जादु, गीत, कविता जस्ता मनोरञ्जनात्मक कार्यक्रम देखाइरहेका छन्।