मधेश प्रदेशका प्रमुख राजेश झा ‘अहिराज’विरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ।
२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१(०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंमा ती युवतीको जाहेरी पुगेपछि अनुसन्धान थालिएको एसपी एवम् प्रवक्ता अपीलराज बोहोराले बताए।
झाले आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रुपमा चिनाउँछन्। उनीविरुद्ध उनकै घरमा बस्ने घटनाका समयमा नाबालिक भनिएकी पीडितले जबरजस्ती करणी आरोपमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गराउने प्रक्रिया प्रहरीले थालेको हो।
बोहोराले यसबारेमा गम्भीर अनुसन्धान भइरहेको बताए। पीडित पक्षले गरेको दाबी पुष्टि हुने आधारहरू अनुसन्धानबाट भेटिने अवस्था भएमा झा तत्कालै पक्राउ पर्न सक्छन्।
उक्त जाहेरीमा डा. झाले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ।
प्रहरीका अनु्सार ती पीडित सबैभन्दा पहिले राष्ट्रिय महिला आयोगमा गुहार माग्न पुगेकी थिइन्। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो।
अधिकारकर्मीको सहयोगमा पीडित भनिएकी युवतीले २०८१ माघ १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। त्यसपछि यस प्रकरणमा महिला तथा बालबालिका सेवा केन्द्रले अनुसन्धान थालेको हो। यो जाहेरी गत फागुन ३ गते प्रहरी परिसरमा दर्ता भइसकेको छ।
अनुसन्धान अघि बढेसँगै प्रहरीले अहिराजविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गर्ने तयारी गरिसकेको छ। यसअघि निरन्तर सामाजिक सञ्जालमा सक्रिय हुने अहिराज अहिले मौन छन्। खोजी गर्दा उपस्थित नभए अहिराजलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ।