नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँले घटाएको छ। 
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ।
निगमको सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 
निगमले जारी गरेको विज्ञप्तिमा वर्ग अनुसार पेट्रोलियम पदार्थको मूल्य सार्वजनिक गरेको हो। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ। 
पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
Photo (7) 51