इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले अरूले २० औँ वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन्। शनिवार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदन भण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाइएको बताएका हुन्। 
प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए। प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए। उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडी हाँक्छु भनेजस्तै हो।’ 
उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए। देशमा स्थायित्व ल्याउने उद्देश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ। उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौँ। अब देशले थप गति लिन्छ।’
नयाँ भन्नेहरूको हालत देखिएको। जथाभाबी छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरूका भ्रममा नपर्न आग्रह गरे। ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरू राज फर्काउँछौँ भनेर हिँडेको असली स्वरूप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ। 
सरकारका सबै सूचकाङ्क सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन्। उनले झापाका कृषकहरुलाई आधुनिकीकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे।