सुनसरीस्थित धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र महिलाको शव फेला परेको थियो। बिहीबार मृत भेटिएकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको थियो।
महिलाको पहिचान खुलेपछि प्रहरीले शुक्रबार बिहान अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चुनकुमारीको योजनाबद्ध रुपमा हत्या भएको देखिन्छ।
धनकुटा घर भए पनि पछिल्लो २ वर्षयता उनी १३ वर्षीय छोरासँग इटहरीमा डेरा बस्दै आएकी थिइन्। उनका श्रीमान् प्रेमबहादुर वैदेशिक रोजगारीका लागि कोरियामा छन्।
महिलाको हत्यामा परिवारकै संलग्नता हुनसक्ने देखिएपछि अनुसन्धानका लागि मृतकको देवर र देउरानीसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ।
तर, पक्राउ परेकाहरूको प्रहरीले पहिचान भने खुलाएको छैन। प्रहरीका अनुसार चुनकुमारीको पतिसँग सम्बन्ध राम्रो थिएन। घरमा सम्पति सम्बम्धी विवाद थियो।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। घटनाबारे सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिइएको उनले बताएका छन्।
प्रहरीका अनुसार जंगलमा महिलाको हत्यापछि लसुनेको रुखको फेदमा शवलाई अडेस लगाएर छाडिएको अवस्थामा फेला गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।