रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो।
वृन्दावन नगरपालिका वडा नम्बर १ तामाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। अत्याधिक गर्मी भएपछि नुहाउन युवक नजिकको बलेरी स्थित बागमती खोलामा पुगेको स्थानीय बताउँछन्।
स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुहाउने क्रममा प्रजाको मङ्गलवार बेलुका ज्यान गएको हो। 
खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ। घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। 
यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।