अहिलेसम्मकै उच्च वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरूबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन्। दर्जनौं उडान रद्द समेत भइरहेका छन्।
धुवाँ, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुवाँलो लागेपछि उडान डिले हुने मात्र नभई धमाधम रद्द पनि भइरहेका छन्। विमान कम्पनीहरूका अनुसार एक सातामा करिब दुई सय बढी उडान रद्द भएका छन्।
सोमबार बिहान मात्रै बुद्ध एयरको पोखरा र भरतपुर उडान पनि प्रभावित भएको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।
कर्णले भने, ‘वायु प्रदूषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित हुन पुगेको छ। सोमबार धेरै उडानहरू प्रभावित नै भएका छन्। सोमबार बिहान मात्र पोखरा, भरतपुर उडान पनि प्रभावित भएको छ। ४ बजेसम्म पनि यस्तै, अवस्था रह्यो भने सबै उडान रद्द हुने सम्भावना छ। यसरी उडानहरू प्रभावित हुँदा कम्पनीहरूलाई नोक्सान त हुने नै भयो।’
साथै कर्णले काठमाडौँ–तुम्लिङटार उडानको रुट रद्द भएको जानकारी दिए। उनले यसरी वायु प्रदूषणले हवाई उडान प्रभावित हुँदा आउँजाउँ गर्ने यात्रुहरूले सास्ती व्यहोर्नुपरेको बताए।
मुख्य पर्यटकीय सिजनमै उडानहरू रद्द हुँदा आर्थिक क्षतिसँगै नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ। पर्यटकीय सिजनमा वायुसेवा अपरेटरहरूले पोखरा, जोमसोम र लुक्ला क्षेत्रका उडानबाट राम्रो आम्दानी गर्ने गर्छन्।
‘डलरफेयर’ मा आम्दानी गर्ने कम्पनीहरू यही बेला उडानहरू रद्द हुँदा वायुसेवा कम्पनीहरूको मुख्य आम्दानीको सिजनमा निराश हुनुपरेको छ।