नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।
विगत पाँच दिनदेखि राजधानी केन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेपछि डा. कोइरालाको यस्तो प्रतिक्रिया आएको हो। 
‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा. कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्।
महासङ्घले आइतबार बिहान विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ।