इन्डियन प्रिमियर लिग (आईपीएल) मा खराब सुरुवात गरेको राजस्थान रोयल्सले राम्रो कमब्याक गर्दै लगातार दोस्रो जित हात पारेको छ। शनिवार भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हराएको हो।
राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रनमा सीमित भयो। पञ्जाबका लागि निहाल बाधेराले ४१ बलमा ६२ तथा ग्लेन म्याक्सवेलले २१ बलमा ३० रन जोडे।
४३ रन बनाउँदा चार विकेट गुमाएको सो टोलीका लागि बाधेरा र म्याक्सवेलले पाँचौँ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए। पञ्जाबले ८ बलको अन्तरमा पाँच रन जोडेर यी दुईका साथ सुर्यांस सेड्गेलाई पनि गुमाएको थियो।
राजस्थानका जाफ्रा आर्चरले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए। उनी खेलको म्यान अफ द म्याच भए। यसैगरी, सन्दीप शर्माले चार ओभरमा २१ रन खर्चेर दुई तथा महशे थक्सेनाले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो। हारपछि पन्जाब ४ अङ्कसहित तेस्रो स्थानमा छ भने राजस्थान ४ अङ्क साथ सातौँ स्थानमा छ।




















