नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण नै शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको उनको भनाइ छ। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनले दाबी गरे। यद्यपि शिक्षा आफैँमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले स्पष्ट पारे।
कार्यक्रममा आफ्नो धारणा राख्दै उनले भने, ‘शिक्षामा राजनीति भयो भनिन्छ। शिक्षामा राजनीति भएन भन्छु म। शिक्षामा दलीयकरण भयो। हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले गाउँतिर गएर फलानो विद्यालयको अवस्था कस्तो छ? भनेर सोध्यो भने त्यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक हाम्रै मान्छे हो भन्ने गरेको सुन्छु। शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हाम्रै मान्छे हो भन्ने तरिकाबाट हामी बाहिर निस्कनुपर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबैभन्दा ठूलो समस्या लिएर आयो। दलीयकरणबाट शिक्षालाई बाहिर निकाल्नुपर्यो। तर शिक्षा राजनीतिक इस्यू हो। हामीले समुन्नत नेपालको सपना देखेका छौँ, शिक्षा क्षेत्रले मुलुकलाई समुन्नत बनाउनको लागि कहाँनेर योगदान दिनसक्छ? त्यो लक्ष्य र उद्देश्यको छलफल यहाँ गर्नुपर्छ।’
मुलुकको समृद्धि र विकासमा शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको उनले बताए। सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परीक्षाफल प्रकाशित हुनुलाई नै ठूलो उपलब्धि ठान्ने सोचले गर्दा हजारौँ विद्यार्थी समस्यामा परेको समेत उनले उल्लेख गरे।
उनले कक्षा १० र १२ को परीक्षाफलको सन्दर्भमा देखिएका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने समेत जानकारी दिए।




















