प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत संसदलाई छलेर सरकार चलाउन खोजिएको आरोप लगाउँदै सीमा सुरक्षा, अर्थतन्त्र र सुकुम्वासी समस्यामा सरकार निकम्मा बनेको दाबी गरेका छन्। साम्पाङले विशेष गरी लिपुलेक क्षेत्रमा भारतले कैलाश मानसरोवर जोड्ने सडक निर्माण गरिरहँदा सरकार केवल कूटनीतिक नोटमा सीमित भएको भन्दै आक्रोश पोखेका छन्।

उनले यो समस्या समाधानका लागि नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघ सम्मिलित चतुर्पक्षीय वार्ताको माग गर्दै सीमा रक्षाका लागि सेनालाई सीमामै खटाउनुपर्ने अडान राखेका छन्।

विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न उनले माग गरेका छन्। राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ पत्रमा लेखिएको छ।