मोरङमा एकजना लागुऔषध कारोबारीलाई प्रहरीले हवाई फायर गरेर पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-१ हटियाडाँडाका २१ वर्षीय आविद मियाँ छन्।
प्रहरी उपरीक्षक कवित कटवालका अनुसार मियाँलाई रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाटै सोमबार राति पक्राउ गरिएको हो।
बीआर३८एडी ५३९० नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका मियाँको साथबाट प्रहरीले ४७५ ग्राम ब्राउनसुगर बरामद गरेको कटवालले बताए।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले तीव्र गतिमा भारतबाट नेपाल आउँदै गरेका मियाँलाई रोक्न दुई राउन्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक कटवालले बताए।
‘उनले पहिले-पहिले पनि भारतबाट नेपालमा लागुऔषध ल्याई रानी, रंगेली र सिजुवा क्षेत्रमा बेचबिखन गर्ने गरेको सूचन थियो,’ कटवालले भने, ‘तीव्र गतिमा मोटरसाइकलमा भाग्न खोजेपछि पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरिएको हो।’
पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखिएको छ।




















