प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भई निर्धक्क मतदान गर्न अपिल गरेकी छिन्। 

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्त्वको रहेको बताइन्। मतदान केवल चुनाव चिह्नमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण निर्णयसमेत भएको उल्लेख गरिन्। 

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिलाई स्मरण गर्दै सडकमा देखिएको युवाहरूको आक्रोश र देशको भविष्यप्रतिको अन्योललाई चिर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउन वर्तमान सरकार सफल भएको उनको दाबी छ। 

निर्वाचनको तयारीबारे प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको भूमिकाको प्रशंसा गरिन्। छोटो समयमै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र चारवटै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिँदै उनले भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाइन्। 

साथै, मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र संयमित ढंगले प्रचारप्रसार गर्न सम्पूर्ण राजनीतिक दल र उमेदवारलाई उनको आग्रह छ। 

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन, कृत्रिम र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूलाई सरकारले कडा निगरानीमा राखेको बताइन्। 

मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने र कानुनबमोजिम कडा कारबाही गर्न सरकार पछि नहट्ने उनको भनाइ छ।