मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ओसार पसार तथा बेचबिखनमा संलग्न २ महिलासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ कि दुर्गा देवी भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको छ भने शङ्कास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका-१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। 
चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका-१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानीले विराटनगर-११ का प्रशान्त राईलाई २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट सहित धरान-१९ का समिर विश्वकर्मा र अर्जुन विश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले प्र.१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउँपालिका-का सिद्धार्थ राईलाई ११ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका(६ का रोशन पोख्रेललाई प्रतिबन्धित औषधी ६८ चक्की सहित पक्राउ गरेको छ। 
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।