उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ। भूकम्पका कारण मान्छेहरू घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र घरहरू ध्वस्त भएका छन् र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन्।
समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोमिटरको गहिराइमा गएको थियो। कम्पनका कारण बाल्ख, समानगन, सार-ए-पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठुलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन्।
काबुल र उत्तरको प्रमुख सहर मजार-ए-शरीफको बिचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। त्यहाँका अधिकांश घरहरू माटो-इँटाले बनेका कम तल्लाका संरचना भएकाले धेरै घरहरू भत्किएका छन्। धेरै नागरिकहरू भग्नावशेषमा पुरिएका छन्।
भूकम्पमा आफ्नो घरसँगै बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले आफूहरूको अवस्था एकदम नाजुक रहेको बताए। “राति करिब १ बजेतिर भूकम्प गएपछि म बाहिर निस्किन भ्याएँ तर मेरी बुहारी ज्यान जोगाउन सकिन। उनी गर्भवती थिइन, बिहे भएको १० महिना मात्र भएको थियो। सबै नष्ट भयो, अब जान पनि कहीँ छैन, घर बनाउन पनि केही छैन,” उनले भावुक हुँदै भने।
चाइना मिडिया ग्रुपका पत्रकारहरूले खिचेका दृश्यहरूमा काबुल-मजार राजमार्गमा ठूलाठूला चट्टान र भग्नावशेषले सडक अवरुद्ध भएको देखिन्छ। कतिपय सवारी साधन पुरिएका छन् र धेरै यात्रुहरू बिचमै अलपत्र परेका छन्।
अफगान स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार आकस्मिक उद्धार टोली प्रभावित क्षेत्रहरूमा पुगिसकेका छन्। क्षेत्रभरका अस्पताललाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।
भूकम्पका घाइते मध्येका नुर मोहम्मदले उपचार भइरहेका अस्पतालबाट भने, “भूकम्प आउँदा म दोस्रो तलाबाट खसेर भुइँतलामा आएँ।” अफगानिस्तान युरेसियन र भारतीय प्लेटको ठोक्किने क्षेत्र नजिक रहेको हुँदा विश्वकै उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमध्ये एक हो।