नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन्।
काठमाडौँमा आयोजित ‘सङ्घर्षमा सिरानचोक’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो। तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो। यसमा मौलिक सौन्दर्य चेतना छ।’
उनले जनयुद्धलाई आंतककारीका रूपमा व्याख्या गरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। ‘जो आफूलाई मूलधार ठान्छन्, उनीहरू आज पनि जनयुद्धलाई आतङ्ककारी भनेर पढाउन रमाउँछन्,’ उनले भने, ‘देश सामन्ती राजतन्त्रबाट गणतन्त्रमा आइपुगेको छ भने त्यस परिवर्तनको प्रमुख वाहक जनयुद्धको इतिहासलाई पाठ्यक्रममा राख्नु हाम्रो साझा जिम्मेवारी हो।’
प्रचण्डले देशभरका पालिकाहरूमा भएका सङ्घर्ष, बलिदान र ऐतिहासिक घटनाहरूलाई दस्तावेजीकृत गर्न आग्रह गरे। ‘सिरानचोकजस्तै हरेक वडाका आफ्नै बेथा छन्, आफ्ना मर्म छन्,’ उनले भने, ‘यी मर्म र गाथालाई केन्द्रित गरेर सङ्कलन गरियो भने ठुलो ऐतिहासिक सामग्री बन्न सक्छ।’
उनले पार्टी, विचारधारा वा सङ्गठनभन्दा माथि उठेर देशको परिवर्तनका प्रक्रियालाई लिपिबद्ध गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा विभिन्न लेखक, साहित्यकार, राजनीतिकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।