रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ।

गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी साहको हत्या संलग्न रहेको आरोपमा प्रहरीले लक्ष्मण पासवानले आज बिहान पक्राउ गरेको हो।

प्रहरीले पासवानलाई घाइते अवस्थामा पक्राउ गरेको हो। माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले बताए। उनका अनुसार आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा लिई उपचारका लागि गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको छ। 

यसअघि प्रहरीले रुबिको शवलाई ई–रिक्सामा राखी उक्त सडक खण्डसम्म पुर्याएको आरोपमा रिक्सा चालक लक्ष्मण महरालाई पनि पक्राउ गरिसकेको छ। 

गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा पासवानको नै मुख्य संलग्नताको प्रहरी अनुसन्धानमा खुलेको थियो। 

पक्राउ परेका पासवानले आफ्ना हातमा My Heart Rubi Kumari लेखी टैटू बनाएको र छातीमा समेत रुबिको फोटो सहितको टैटू बनाएको पाइएको छ। 

यस विषयमा थप अनुसन्धान भैइरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।