जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला सङ्घ धनुषाले जनकपुरधाममा झाडुसहित विरोध प्रदर्शन गरेको छ।
शनिवार सङ्घका महिला सदस्यहरूसहित जसपा नेपालका जिल्ला तथा मधेस प्रदेशका पदाधिकारी एवम् नेता तथा कार्यकर्ताहरूले जनकपुरधाममा सडक अवरुद्ध गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन्। उनीहरूले उपेन्द्र यादव जिन्दावाद, झुटो मुद्दा खारेज गरे, ओली सरकार मुर्दावादलगायतका नारासमेत लगाएका छन्।
जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जसपा नेपालका समानुपातिक मधेस प्रदेश सांसद ममता मण्डलले जानकारी दिइन।
सरकारले उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनीसमेत दिइन। उनले आज (आइतबार) पाँच हजार जना जनकपुरधामको सडकमा उतार्ने बताइन।
गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो। ०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।