माओवादी केन्द्रसहित ३ दलको फरक मतकाबीच विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको छ।
माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत पेश गरेको हो।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले फरक मत राखेका हुन्।
विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाएको छ। जसमा सरकारले साढे २ प्रतिशत छात्रवृत्ति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ।
बिहीबार पारित विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए। उनका अनुसार उक्त विधेयक समितिमा करिब ९ महिना अघि २०८१ मंसिरमा आएको थियो।