एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) टोली मधेश युनाइटेडले दोस्रो संस्करणका लागि नयाँ लोगो सार्वजनिक गरेको छ।
टोलीले सार्वजनिक गरेको लोगोमा हरियो रङ छ जसमा खेलकुद, संस्कृति र मधेशी गर्वलाई समेटेको जनाइएको छ।
लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको खेल भावना र प्रतिस्पर्धा दर्शाउँछ। वरिपरिका लहरहरूले गतिशीलता, ऊर्जा र तीव्रता जनाएका छन्। माथिल्लो भागमा जानकी मन्दिरबाट प्रेरित मन्दिरको आकृति राखिएको छ, जसले मधेशको सांस्कृतिक र धार्मिक पहिचान झल्काउँछ।
यो लोगो खेलकुद र संस्कृतिको संयोजन भएको बताइएको छ, जसले मधेशको सम्पदा र महिला भलिबलको पहिचानलाई जोडेको छ।
मधेश युनाइटेड टिममा निरुता ठगुन्ना मार्की खेलाडीका रूपमा छन् भने अन्य खेलाडीहरूमा आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, स्नेहा ठगुन्ना, उषा विस्ट, बबिता बोहोरा र बसन्ती साउद छन्।
टिमकी प्रशिक्षक कोपिला उप्रेती हुन् भने नीति शाह ब्रान्ड एम्बेसडर रहेकी छन्। इडब्लुभीएल यही भदौमा हुँदैछ भने खेलाडी अक्सन पनि सम्पन्न भइसकेको छ।