मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। 

बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ आफ्नै धानखेतमा मृत अवस्थामा फेला परेका छन्। उनी युरिया मल छर्न खेतमा गएका थिए।

प्रहरीका अनुसार ऋषिदेवको शव खेतमै घोप्टो परेको अवस्थामा भेटिएको हो। मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीले जानकारी दिएका छन्।

त्यस्तै, उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान घरनजिकैको धानखेतमा मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, लिम्बूको दायाँ नाकबाट रगत बगेको र हातखुट्टा कठ्यांग्रिएको अवस्थामा शव भेटिएको थियो।

कानुनी प्रक्रिया पूरा गरी उनको शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको छ। घटनाको थप अनुसन्धान इन्स्पेक्टर रन्जन बरालको टोलीले गरिरहेको छ।