संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा छानबिन गर्न बनेको गठित समितिको म्याद सकिँदासमेत प्रतिवेदन तयार भएको छैन।
नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले म्याद सकिँदासम्म निरन्तर छलफल जारी राखे पनि प्रतिवेदनमा के लेख्ने भन्ने निष्कर्ष निकाल्न नसकेको हो।
समितिमा रहेका सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले फरक-फरक अडान राखेपछि सहमति जुट्न सकेको छैन, जसले गर्दा समितिको म्याद सकिँदासमेत प्रतिवेदन तयार भएको छैन।
समितिलाई सुरूमा २१ दिन र पछि ७ दिनको म्याद दिइएको थियो। उक्त म्याद आइतबार नै सकिइसकेको छ। समितिको प्रतिवेदन सोमबार प्रतिनिधि सभा बैठकमा पेस गर्ने भने पनि कार्यसूचीमा चढेन।
समितिमा नेपाली कांग्रेसबाट सांसद जीवन परियार, सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती तथा प्रतिपक्षी दल माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।
समितिका सत्तापक्ष र प्रतिपक्षी सांसदहरूका फरक फरक कुरा छन्, जसले निष्कर्षमा पुगेर प्रतिवेदन लेखन प्रभावित बनाएको छ।




















