नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन्।
अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रवार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै घिसिङले आफूले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठुलो आशा गरेको बताए। कार्यक्रममा बोल्दै उनले भने,‘वास्तवमा देश बनाउन तपाईँहरूको ठुलो भूमिका रहेको छ। देशको सम्वृद्धिको लागि, देशमा सुशासन कायम गर्न र देशको समग्र विकासको लागि तपाईँहरूबाट ठुलो आशा गरेको छु। आफ्नो आफ्नो क्षेत्रमा रहेर विभिन्न भूमिका तपाईँ सबैले निभाउनुपर्छ यो एक्सनमा तपाईँहरू पनि आउनुपर्छ भन्ने मेरो अनुरोध हो।’
उनले अगाडि भने,‘उज्यालो नेपाल त बन्यो अब उज्यालो नेपाल अभियान लिएर म आएको छु। केही दिन अघि बहराइनबाट उज्यालो नेपाल अभियान घोषणा गरेर आएको छु। कुनै नेता वा नेतृत्व जन्मिनु भन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्त्वपूर्ण विषय हो।
उज्यालो नेपाल अभियान समृद्धिको अभियान, सामाजिक न्यायको अभियान, रोजगारीको अभियान र देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने अभियान भएको बताउँदै घिसिङले देशभित्र र बाहिर भएका श्रम शक्तिलाई एकीकृत गरी परिवर्तनतर्फ अगाडि बढाउने एउटा अभियान भएको बताए।
कुलमान घिसिङले ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उनले नेपालमा राजनीतिक परिवर्तन धेरै भए पनि आर्थिक रूपान्तरण हुन नसकेको बताए।
साथै, नेपालमा विकास गर्न सक्ने नेतृत्व जन्मिन नसकेको बताउँदै उनले जनतालाई डेलिभरी दिन सक्ने खालको नेतृत्व चाहिएको बिचार व्यक्त गरे। त्यसका लागि एउटा राम्रो टिम बन्नुपर्ने र त्यसले नेपाललाई परिवर्तनतर्फ लैजाने उनको भनाई छ।
घिसिङ उज्यालो अभियानको सिलसिलामा यतिखेर अमेरिकाको विभिन्न स्थानहरूको भ्रमणमा छन्। उनले पछिल्लो कार्यक्रम टेक्सासकै अस्टिनमा गरेका छन्।