आज साउन महिनाको पहिलो सोमबार। काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ।
साउन भगवान शिवको महिना मानिन्छ र सोमबार प्रिय बार भएकाले यस दिन पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको हो। यस दिन विशेषगरी आशुतोष भगवान शिवको पूजा तथा आराधना गरिन्छ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ।
यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ।