राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी आफूमाथि गरेको कारबाहीको विरोध स्वरुप निर्वाचन आयोग पुगेका छन्।
उनले शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने गरि गरेको निर्णयलाई आयोगमा कानुनी चुनौती दिएका हुन्।
मनोनित उपाध्यक्ष गिरीले आफूलाई अध्यक्ष लिङ्देनले स्वेच्छाचारी ढंगबाट जिम्मेवारीदेखि हटाएको बताएका छन्।
उहाँले कसैलाई पदमुक्त गर्न केन्द्रीय कार्यसमितिबाट निर्णय गराएर अनुशासन समितिमा पठाउनुपर्छ’, उनले भने, ‘अनुशासन समितिले छानबिन गर्दा चित्त बुझे नबुझेको विवरण केन्द्रीय समितिमा पठाउनुपर्छ। त्यसपछि मात्रै केन्द्रीय कार्यसमितिले कारबाहीको निर्णय लिने हो।’
गिरीले लिङ्देन स्वेच्छारी ढंगले चलेको आरोप पनि लगाए। ‘उहाँले स्वेच्छाचारी ढंगले कारबाही गर्न पाउनु हुन्न’, उनले भने, ‘त्यसैले उहाँको स्वेच्छारी कदमविरुद्ध हामीले कानुनी चुनौती दिएका छौँ।’
यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए। उनीहरूले पनि आयोगमा कानुनी चुनौती दिइसकेका छन्।
शुक्रबार नै बसेको पार्टीको अनुशासन समितिको बैठकले नीति सिद्धान्त र हितविपरीत हुने गरी कुनै पनि लिखित वा मौखक अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन पनि दिएको थियो।