पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ।
स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
उनले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको बताए। डिमुवा र कुश्माबाट गएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी जारी राखेको छ। अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको उनको भनाइ छ।
गए रातिदेखि परेको भारी वर्षाका कारण आइतबार बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन्।