विद्युत् सेवा चुहावट हुँदा मुगुको छायाँनाथ रारा नगरपालिका–११ कुसा टाउमा दश वटा खच्चर मरेका छन्।
जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुमा कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरहरूलाई नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको हो।
प्राधिकरणले कम क्षमताको ट्रान्सफर्मर जडान गर्नुका साथै विद्युत् अर्थिङ सुरक्षित नबनाउँदा आइतबार दिउँसो करेन्ट लागेको गुनासो छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गरे।
उनले भने, ‘पानी परिरहेको थियो। सडक छेउमा रहेको ट्रान्सफर्मरबाट विद्युत् जमिनमा बगिरहेको रहेछ, हामीलाई थाहै भएन। एक्कासि करेन्ट लागेर १० वटा खच्चर मरे। मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएकोले बाँचे।’
उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने गर्दछ। उनले विद्युत् प्राधिकरणसँग खच्चरहरूको क्षतिपूर्तिको माग गरेका छन्।
छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चार वटा, वडा नं. १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीन वटा खच्चर मरेका हुन्।
गत शुक्रवार पनि वडा नं। १२ कम्फागाउँका खड्काबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो।
नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा स्थानीयले दिनहुँ सास्ती भोग्नुपरेको बढुवालले बताए।
केन्द्रका प्रमुख साजन ऐडीले वर्षा र हुरी बतासका कारण विद्युत् सेवा प्रभावित भएको र नियमानुसार क्षतिपूर्तिका लागि प्रादेशिक तथा केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए।