महानगर यातायात प्रा.ली. को नाम, रङ्ग र डिजाइन समेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरी सोही रुटमा चलेको भन्दै सक्कली महानगर यातायात प्रा।लीले आपत्ति जनाएको छ। 
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा.ली.ले आपत्ति जनाएको हो। प्रा.ली.ले जारी गरेको विज्ञप्तिमा हाल प्रा.ली.कै नाममा रङ्ग रोगन गर्दै बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरूले प्रहरीमा खबर गरी महानगर यातायातको कार्यालय पुग्ने गरेको उल्लेख छ।
यात्रु झुक्याउने गरी एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरूले समेत विविध समस्या झेलिरहेको प्रा।ली।को भनाई छ। यसबारे पटक पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट बेहोर्नुका साथै कयौँ पटक त केही बसहरूको नियमित सेवा समेत रोकिने गरेको उनीहरूको भनाई छ।
यसबापत यात्रुहरूले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नरहेको महानगरका यातायात व्यवसायीहरूको भनाई छ। अनुसन्धान पछि यथार्थ पत्ता लाग्दा पनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायात गुनासो रहेको छ। यसबारे बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन दिँदा पनि समस्या समाधानको लागि कुनै पहल नगरेको महानगर यातायातको भनाई छ।