नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट कांग्रेस, एमाले र स्वार्थ समूहतिर मात्र ढल्किएको भन्ने पूर्वाग्रह पूर्ण विचारहरू प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट स्वार्थ समूहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरूले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरू समेटिएको दाबी गरे।
उनले भने,‘ यो सरकार एमाले र कांग्रेस लगायत पार्टीको गठबन्धनमा बनेको छ। त्यस कारण यो बजेट कतै कांग्रेसतिर मात्रै ढल्किएको ,कतै स्वार्थ समूहतिर मात्र ढल्किएको जस्तो भयो भनेर प्रतिपक्षको सांसदले भन्नुभयो। यो नितान्त पूर्वाग्रहपूर्ण विचार हो। बजेटमा सम्पूर्ण क्षेत्रहरू समेटिएका छन्।’
त्यस्तै, उनले बजेट प्राथमिकतामा आधारित रहेर आएको भन्दै श्रोत प्रक्षेपण पनि ठिकसँग गरिएको धारणा राखे। आयोजनाको सङ्ख्या धेरै हदसम्म घटाइएको बताउँदै उनले अर्थतन्त्रलाई लयमा फर्काउन यस वर्षको बजेट केन्द्रित भएको बताए।
उनले भने,‘समग्रमा यो बजेट प्राथमिकतामा आधारित छ। श्रोत प्रक्षेपण ठिकसँग गरिएको छ। आयोजनाको सङ्ख्या धेरै हदसम्म घटाइएको छ। यो वैज्ञानिक छ। अर्थतन्त्रलाई लयमा फर्काउन यो केन्द्रीय भएको देखिएको छ। निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आएको छ। आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको छ र आन्तरिक उत्पादनलाई विशेष जोड दिएको छ। यसमा सरकारलाई धन्यवाद छ तर कमी भएको ठाउँहरूमा सुधार्ने सङ्कल्प गरौँ।’
सांसद गिरीले आफू सरकारमा हुँदा सबै ठिक अर्को सरकारमा हुन्दा सबै बेठिक भन्ने गलत भाष्य निर्माण भएको भन्दै भने,‘नयाँ ढङ्गले अगाडि बढ्ने सङ्कल्प हामीले गर्नै पर्छ। आज म ठिक तँ बेठिक। म भएको भए देश बन्थ्यो ,तँ हुँदा बनेन जस्तो प्रकारले भाष्य निर्माण गरिँदै छ। यो वास्तवमा धेरै दिन टिक्ने विषय होइन। यथार्थको जगमा हामी सबै उभिनुपर्छ।’