उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित नेपाल शेर्पा सङ्घ, सङ्घीय कार्यसमितिको ७ औँ राष्ट्रिय महाधिवेशनमा उनले प्राप्त अधिकारभन्दा बढी खोज्दा अहिले भएको उपलब्धि पनि गुम्ने भन्दै प्राप्त अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई पनि बिर्सन नहुने बताए।
उनले भने, ‘तपाई–हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने प्राप्त गरेको अधिकार सुरक्षित राख्ने कि नराख्ने प्रश्न भन्ने प्रश्न छ। प्राप्त गरेको अधिकारभन्दा पनि बढी अधिकार खोज्दा अहिले प्राप्त गरेको उपलब्धि र अधिकारहरू छन् त्यो पनि गुम्ने हो की भन्ने चिन्ता छ। यस कारण प्राप्त गरेका अधिकारको महत्वलाई पनि बुझ्नुपर्छ। अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई बिर्सिनु हुँदैन।’
यस्तै, उनले लामो सङ्घर्ष, त्याग, तपस्याबाट प्राप्त भएको अधिकारलाई सुरक्षित राख्न सक्नुपर्ने पनि बताए।
उनले भने, ‘प्राप्त गरेको अधिकार कसैको दया मायाले दिएको होइन। लामो सङ्घर्ष, त्याग, तपस्याबाट प्राप्त भएको हो। यसलाई सुरक्षित राख्न सक्नुपर्छ। यसो गरे मात्र आम जनताको चाहना राजनीति स्थिरता र स्थायित्वको आधारमा नेपाललाई सम्पन्नताको मार्गमा अगाडि बढाउन सकिन्छ र यसमा शेर्पा समुदायको पनि महत्त्वपूर्ण भूमिका हुन्छ।’