विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका अर्का जवानको पनि शव भेटिएको छ।
सशस्त्रका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेटिएको हो। उनको शव कोशी बराजको ५५ नम्बर ढोका नजिकबाट निकालिएको छ।
प्रहरीका अनुसार चितवनको कुरिनटारबाट पुगेको डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले साउदको शव निकालेको हो।
गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र अर्का जवान हरदेव राजवंशी बेपत्ता भएका थिए। राजवंशीको शव शुक्रबार नै तीन किलमोटिर तल भेटिएको थियो।
बेपत्ता भएका दुवै सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको थियो।
उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका राजवंशीको शव सप्तकोशी किनारमा फेला पारेको थियो। साउद नभेटिएपछि कुरिन्टारबाट गोताखोर टोली गएको थियो।
वर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दा गर्दै मधेश प्रदेश सशस्त्र प्रहरी जवान साउद र राजवंशी बेपत्ता भएका थिए।