नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत् आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भर्टर र मैन बत्तीका दिन आए भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको बताए। 
उनले भने,‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइप्रति कति पनि सत्यता नरहेको र अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै नआउने ब्यहोरा आम उपभोक्तालाई जानकारी गराउँदछौ।’
त्यस्तै, उनले ढल्केवर मुजफरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत् अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे। 
बेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए।  
उनले भने,‘ढल्केवर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण ढल्केबर मुजफरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एक साथ देखिएको समस्याका कारण नेपालमा सो लाइनमार्फत आपूर्ति हुँदै आएको विद्युत् अचानक अवरुद्ध हुन पुगेको थियो। दुवै सिर्किटमा आएको समस्या तत्काल समाधान नभएकाले नेपालको मात्र प्रणाली सञ्चालन गरी विद्युत् आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको तर बेलुकाको समयमा बढेर आउने लोडको कारण स्थिर आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको थियो,’ उनले भने। रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, कुशहवा–कटैया १३२ केभी लाइनहरूमार्फत नेपालतर्फको विद्युत् गृहहरू सञ्चालन गरी आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको थियो। माग भन्दा कम उत्पादनका कारण सिस्टम स्टेवल नभई लाइन ट्रिपिङ्ग भई विद्युत् प्रणाली सञ्चालन गर्न सकिएन।’
विद्युत् प्रणालीमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि प्राधिकरण प्रतिबद्ध भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालीन मध्यकालिन र दीर्घकालीन योजना बनाइ कार्य गरिरहेको पनि जानकारी दिए।