सगरमाथा जाने बाटोमै पर्ने शिवालय बजार सुनसान, होटलहरु रित्तै
कुनै बेला विदेशी पर्यटकले भरिभराउ हुने रामेछापको शिवालय बजार अहिले सुनसान भएको छ।
दोलखाको जिरीबाट रामेछापको शिवालय, बाम्तीभण्डार हुँदै सोलु जाने पर्यटकहरू सो रुटबाट हिँड्न छाडेपछि अहिले शिवालय बजार सुनसान भएको छ।
सोलुको सदरमुकाम सल्लेरीसम्म सडक नपुग्दा यो रुट विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुग्ने प्रमुख पैदल मार्ग थियो। दोलखाको जिरीसम्म बसमा आएका पर्यटक यही बाटो हुँदै सोलु जाने गर्दथे। 
सल्लेरी सडक पुगेपछि धेरै पर्यटकहरू अहिले काठमाडौँबाट गाडी सोझै सल्लेरी जान गर्दछन्। रामेछापको मन्थली विमानस्थलबाट हवाई मार्ग प्रयोग गरेर जाने पर्यटकहरूको सङ्ख्या पनि निक्कै रहेको छ। 
विदेशी पर्यटकहरूलाई लक्षित गरी शिवालय बजारमा बनाइएका होटेलहरू अहिले खाली छन्, बजार सुनसान छ। फाट्टफुट्ट पैदल हिँड्न चाहने पर्यटकहरू सो रुट भएर हिँड्ने बाहेक विदेशी पर्यटकको सङ्ख्या अति न्यून रहेको गोकुलगंगा गाउँपालिकाकी पूर्वउपाध्यक्ष समेत रहेकी होटेल व्यवसायी राधिका श्रेष्ठ बताउँछिन्। 
कुनै समय विदेशी पर्यटकले बाटो नपाइने शिवालय बजारमा अहिले विदेशी पर्यटक देख्नु पनि नयाँ जस्तो हुन लागेको छ। ‘पहिला बाटो पाई नसक्नुहुन्थ्यो, होटलमा बस्ने ठाउँ नपुगेर कतिपय पर्यटकहरू बाहिर टेण्ट टाँगेर बस्थे, अहिले सबै होटल खाली छन्, होटल नचलेपछि कतिपयले त छाडिसके’, स्थानीय ललिता श्रेष्ठले भनिन्। 
एकै सिजनमा सयौँ विदेशी पर्यटकहरूले यात्रा गर्ने शिवालय क्षेत्रमा अहिले वर्षभरिमा मुस्किलले एक हजार पर्यटक पनि नआई पुग्ने राधिकाले बताइन्। पर्यटकलाई आकर्षण गर्न कसरी नयाँ खालका प्याकेजहरू दिन सकिन्छ भन्ने विषयको स्थानीय व्यवसायीहरू खोजीमा लागेका छन्। 
सो रुट भएर सोलु जाने पर्यटकसँग गौरीशङ्कर संरक्षण क्षेत्रले अनावश्यक शुल्क उठाएको कारण पनि पर्यटकको सङ्ख्या घटेको स्थानीयको गुनासो छ। शिवालयबाट अघि बढ्ने पर्यटकले संरक्षण क्षेत्रको कार्यालयमा शुल्क नतिरी प्रवेश नपाउने भएकोले पनि उनीहरू सोझै सोलु जान लागेका छन्।