बेलबारी नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्न रु. १४ लाख ३४ हजार ८ सय बराबरको छात्रवृत्ति वितरण गरेको छ। नगरपालिकाभित्र रहेका आठवटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का १७० जना विद्यार्थीहरूले यो छात्रवृत्ति प्राप्त गरेका छन्।
नगरप्रमुख दिल प्रसाद राईका अनुसार, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू शिक्षाबाट वञ्चित नहुन भनेर छात्रवृत्ति प्रदान गरिएको हो। नगरप्रमुख राईले छात्रवृत्तिले विद्यार्थीहरूलाई उच्च शिक्षामा निरन्तरता दिन सघाउने विश्वास व्यक्त गरे।
शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली नगरपालिका तथा विद्यालयहरूको वेबसाइट र फेसबुक पेजमा सार्वजनिक गरिएको छ। साथै, नगरपालिकाले विद्यार्थी र अभिभावकहरूलाई विद्यालय प्रशासनसँग सम्पर्क गरेर छात्रवृत्तिको सुनिश्चितता गर्न आग्रह गरेको छ।
सामाजिक विकास शाखाकी प्रमुख एलिना बस्नेतले जानकारी गराएअनुसार, कक्षा ११ मा विज्ञान विषय पढ्ने कुल विद्यार्थीमध्ये ५० प्रतिशतले पूर्ण छात्रवृत्ति पाएका छन्। अन्य विषयका लागि पनि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई अधिकतम रु. ९ हजारसम्मको शुल्क बमोजिम पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो। कक्षा १२ का विद्यार्थीहरूलाई भने गत वर्षको दरअनुसार नै छात्रवृत्ति दिइए प्रमुख बस्नेतले जानकारी दिइन।
विद्यालयवार छात्रवृत्ति वितरण विवरण
विद्यालयको नाम | स्थान | कक्षा ११ | कक्षा १२ | जम्मा विद्यार्थी |
---|---|---|---|---|
जनता नमुना मा.वि | बेलबारी ९ | ३७ | - | ३७ |
भगवती मा.वि | बेलबारी ३ | २८ | २३ | ५१ |
धनपाल मा.वि | बेलबारी ५ | ७ | ८ | १५ |
लक्ष्मी मा.वि | बेलबारी ११ | ११ | ६ | १७ |
काली मा.वि | बेलबारी ९ | ५ | ६ | ११ |
कसेनी मा.वि | बेलबारी ४ | ५ | ५ | १० |
जनता मा.वि | बेलबारी ८ | ७ | ५ | १२ |
धिरनाथ स.वि मा.वि | बेलबारी १० | ११ | ६ | १७ |
जम्मा | १११ | ५९ | १७० |