स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले केही समय लागे पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका छन्।
बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले केही समय लागे पनि अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरू कै पक्षमा जाने भन्दै राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका हुन्।
उनले भने, ‘यो मुलुकमा धेरै काम गर्नुपर्ने छ, तर गर्न सकिदैँन भन्दै पलायन हुने होइन गर्न सकिन्छ भनेर अगाडि बढ्नु पर्छ। समस्याको समाधान दिने हिसाबले नेतृत्वमा आउनु, जतिले चाहे पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ। केही समय लाग्न सक्छ तर अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरू कै पक्षमा जान्छ।’
यस्तै, उनले विद्यार्थी आन्दोलनले साझा मुद्दा पहिचान गरेर त्यसको आधारमा अगाडि जाने अवस्था भयो भने राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्ने बताए।
उनले भने, ‘विद्यार्थीहरूले साझा मुद्दा निर्माण गरेर सँगसँगै जाने वातावरण निर्माण गर्नुपर्छ। नेपालमा २०४७ साल, २०६२, ६३ सालको आन्दोलनमा सधैँ लोकतन्त्रवादी विद्यार्थी सङ्गठनहरू आपसमा मिलेर अगाडि बढेको अवस्था थियो। त्यस कारण वर्गीय मुद्दा प्राप्त गर्नका लागि विद्यार्थी सङ्गठनहरू बिच एकता कायम गर्न सक्नु पर्छ। साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अगाडि जाने अवस्था भयो भने विद्यार्थी आन्दोलनले राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्छ।’
परम्परागत रूपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुराहरूलाई अन्त्य गर्नका लागि विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ।
उनले भने, ‘परम्परागत रूपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुराहरूलाई अन्यत गर्नका लागि विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ त्यसैले सामाजिक क्षेत्रमा सामाजिक बेथितिलाई अन्त्य गर्नको लागि समाजमा सुधार गर्नको लागि विद्यार्थी आन्दोलनले धेरे ठुलो भूमिका खेल्न सक्छ।’
यसको साथै, उनले विद्यार्थी आन्दोलन सामाजिक मुद्दा, जनताको मुद्दा र विद्यार्थी समुदायको मुद्धाहरुको बारेमा बोल्नुको साथै बेथिति र विसङ्गतिको विरुद्ध प्रहार गर्ने पनि बताए।