कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रूपमा नभई भव्य रूपमा मनाउन निर्देशन दिएका छन्। 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुनेगरी मनाउनुपर्ने बताए। 
उनले भने,‘दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ। गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रूपमा मनाउ।’
बैठकले आगामी जेठ १४, १५ र १६ दिवसमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछि पछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जनाएका छन्। 
मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि सम्बन्धमा अन्तरक्रिया र कार्यक्रमको  आयोजना गर्न निर्देशन दिए। दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन समेत गरिएको छ।