नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय रहेको बताएका छन्।
शनिवार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन र संविधानको कार्यान्वयनमा नेपाली प्रेसको भूमिका महत्त्वपूर्ण भएको बताएका हुन्।
उनले भने, ‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान् जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ।’
यस्तै, उनले विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास लिएको पनि बताए।
प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको भन्दै यही आवश्यकतालाई व्यवहारतः कार्यान्वयन गर्न प्रेस जगत् निरन्तर लाग्ने उनको भनाई छ।
उनले भने, ‘प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो, यही आवश्यकतालाई व्यवहारतः कार्यान्वयन गर्न प्रेस जगत् निरन्तर लाग्ने विश्वास लिएको छु। यस दिवसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न प्रेरित गरोस् हार्दिक शुभकामना।’