शिक्षक आन्दोलनकोमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते हुँदा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ।
आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौँको नयाँबानेश्वरमा भएको झडपको समाचार सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएकी थिइन्।
घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।
नेपाल पत्रकार महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार खेदजनक रहेको र संवैधानिक अधिकारमा आघात पुगेको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ। यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासङ्घको ठहर छ।’
महासङ्घले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग पनि गरेको छ।
