बेलबारी ।  मोरङको बेलबारी–२ मा अवस्थित रमिते सामुदायिक वन उपभोक्ता समूहले क्षेत्रका दुई सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ। शनिबार बिहान आयोजित एक कार्यक्रममार्फत समूहले कबिर माध्यमिक विद्यालय र सिंहदेवी आधारभूत विद्यालयलाई नगद सहयोग स्वरूप रकम हस्तान्तरण गरेको हो।

समूहका अनुसार विद्यालय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कबिर माध्यमिक विद्यालयलाई ७ लाख रुपैयाँ र सिंहदेवी आधारभूत विद्यालयलाई १ लाख रुपैयाँ सहयोग गरिएको हो।

कार्यक्रमको अध्यक्षता गर्दै समूहका अध्यक्ष खगेन्द्र ओझाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले यस्तो सहयोग गरिएको बताए। उनले भने, “सामुदायिक विद्यालयमा शैक्षिक सुधार हुन अत्यावश्यक छ। वन तथा जंगलको संरक्षण जत्तिकै महत्वपूर्ण हाम्रो शिक्षा प्रणालीको गुणस्तर हो। त्यसैले हामीले समाजकै बालबालिकाले अध्ययन गर्ने विद्यालयहरूलाई सहयोग गर्दै आएका छौं।”

उनका अनुसार समूहको मुख्य लक्ष्य भनेको विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माण र शिक्षाको स्तरमा सुधार ल्याउने हो।

कार्यक्रममा कबिर माध्यमिक विद्यालयका प्रधानाध्यापक अभय लिम्बुले विद्यालयको प्रारम्भिक भवन निर्माणदेखि नै वनको उल्लेखनीय सहयोग रहँदै आएको उल्लेख गरे। उनले विज्ञान प्रयोगशाला, चमेना गृह, छात्रवृत्तिलगायतका शैक्षिक तथा भौतिक पूर्वाधारमा वनको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भने, “विद्यालयको गुणस्तर वृद्धि गर्न वन र स्थानीय समुदायको सक्रिय भूमिका प्रशंसनीय छ। आगामी दिनमा पनि सबै पक्षको सहकार्य आवश्यक छ।”

कार्यक्रमको सञ्चालन समूहकी सचिव नैना राईले गरेकी थिइन्। समूहले यसअघि पनि शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।