काठमाडौँ महानगरपालिकाले तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ।
महानगरको प्रशासन विभागले सूचना जारी गदै आइतबार शोक बिदा दिएको जानकारी दिएको हो।
उपप्रधानपञ्चका रूपमा उनले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पुर्याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो।
जसअनुसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहेको छ।
स्वर्गीय डंगोलको हिजो टेकुमा अन्त्येष्टि भइसकेको छ। पूर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन भएको थियो।
२००४ साल माघ २९ गते जन्मिएका डङ्गोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए।