उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन्। 
बुधवार मन्त्रालयमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको सहरी विकास मन्त्रालयमा सचिव गोपाल प्रसाद सिग्देलले जानकारी दिएका छन्। 
उनले भने, ‘भारतका सहरी विकास मन्त्री भ्रमणमा आउनु भएको थियो। दुई देशीय सम्बन्धको बारेमा र पारस्परिक हितको बारेमा सानो छोटो छलफल भयो। भारत र नेपालबीच सहरी विकासको सन्दर्भमा विशेष गरेर अनुभवको आदान प्रदान र सहयोगको आदानप्रदान कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भयो।’
यस्तै, उनले भेटका क्रममा भारतका सहरी विकास मन्त्रीले भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समयमा हासिल गरेको प्रगति विशेष गरेर फोहोर व्यवस्थापन र सहरी यातायात व्यवस्थापनमा भारतले हासिल गरेको उपलब्धि, अनुभव आदानप्रदान गर्न सकिन्छ भन्ने धारणा राखेको र त्यसलाई प्रधानमन्त्रीले पनि सकारात्मक रूपमा लिएको बताए। 
सोही क्रममा भारत र नेपाल सरकारबीच सहरी, पूर्वाधार विकासका अवधारणा, अनुभव आदानप्रदान गर्ने र सहकार्यमा अगाडि बढ्नको लागि एउटा एमओयू तयार भएको भन्दै यसलाई अर्को भ्रमणमा हस्ताक्षर गरेर औपचारिक रूपमा अगाडि बढाउने कुरा भएको पनि उनको भनाई छ।