नजिकैका संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी झोला बोकेर स्कुल जाँदै गर्दा रामेछापको सबैभन्दा धेरै विद्यार्थी भएको मन्थली माध्यमिक विद्यालयको गेट बन्द छ। 
संस्थागत विद्यालयमा पढ्ने जाने विद्यार्थी र बच्चालाई पुर्‍याउन जाने अभिभावकको भिडभाड छ तर सामुदायिक विद्यालय गेटदेखि नै सुनसान छ। कुनै चहलपहल छैन। मौनता अनि शून्यता मात्रै छ। 
नेपाल शिक्षक महासङ्घको आह्वानमा विद्यालयका शिक्षक–कर्मचारीहरू विद्यालय नै बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलनमा गएपछि मन्थली मावि मात्र होइन रामेछाप र देशभरिकै सबै सामुदायिक विद्यालय अहिले बन्द छन्। विद्यालय बन्द हुँदा नयाँ शैक्षिक सत्रको कुनैपनि गतिविधि सुरु हुन सकेको छैन। 
नयाँ वर्ष लागेसँगै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु हुनुपर्ने हो। विद्यार्थी भर्ना गर्नको लागि अभिभावकलाई सम्झाउनु पर्ने शिक्षकहरू यति बेला आफ्ना सेवा सुविधाको विषयलाई लिएर सरकारलाई सम्झाउन काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना लगायतका कुनै गतिविधि हुन सकेका छैनन्। 
शैक्षिक क्यालेण्डर अनुसार वैशाख ७ गतेबाट त पठनपाठन नै सुरु हुनु पर्ने हो तर आन्दोलनमा गएका शिक्षकहरू कहिले विद्यालय फर्कने हुन् ठेगान छैन। संस्थागत विद्यालयमा धमाधम पढाइ सुरु हुँदा पनि विद्यालय नै नखुलेपछि सामुदायिक विद्यालयका विद्यार्थी र अभिभाव अन्योलमा परेका छन्।
आर्थिक हैसियत राम्रै भएका अभिभावकले छोराछोरीलाई संस्थागत विद्यालयमा पठाउन सुरु गरेका छन्। आर्थिक रूपमा कमजोर अभिभावक र विद्यार्थीलाई भने शिक्षक कहिले फर्कने हुन् भनेर पर्खनुको विकल्प छैन। 
कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र सञ्चालनको कुरा मात्र होइन शिक्षक आन्दोलनको कारण ११ र १२ कक्षा समेत प्रभावित भएका छन्। शिक्षक आन्दोलन जारी रहेको अवस्थामा यही वैशाख ११ गतेबाट हुने भनिएको कक्षा १२ परीक्षा हुने कि नहुने भन्ने अन्यौलता छाएको छ। 
अझ कक्षा ११ का परीक्षाको मुखमा पुगेको विद्यार्थीहरूको पढाइ रोकिएको छ। जेठ महिनामा हुने ११ कक्षाको परीक्षाको तयारीमा रहेका विद्यार्थीको पढाइ रोकिँदा विद्यार्थीहरू तनावमा परेका छन्।
‘सरहरू आन्दोलन गर्न काठमाडौँ जानुभएको छ, जेठमा परीक्षा हुने भनेको छ, हाम्रो त कोर्स पनि सकिएको छैन, सरहरू कहिले फर्कने र कक्षा सुरु हुने हो ठेगान छैन’, मन्थली माविमा ११ कक्षामा पढ्ने एण्ड्रिसा घिमिरेले बताइन्।