बेलबारी नगरपालिका–९ निवासी आमासु राजबंशी भारतको सिलिगुडीमा भ्रमणका क्रममा दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। टाउकोमा गहिरो चोट लागेका राजबंशीको उपचारका लागि छिमेकीको सहयोगमा उनलाई उद्धार गरी बेलबारी ल्याइएको हो।

राजबंशीको कुनै नातेदार नभएकाले प्रारम्भिक उद्धारमा छिमेकीहरूले सहयोग गरेका थिए। श्रीमतीसहित बसोबास गर्दै आएका राजबंशीलाई शनिबार बिहान बिराटनगरस्थित नोबेल अस्पताल लगिएको छ।

बेलबारी–९ का वडाध्यक्ष सालिग्राम बस्नेतको पहलमा मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल कुमार शर्मासँग समन्वय गरी औषधि बाहेक सम्पूर्ण उपचार खर्च निःशुल्क गरिने व्यवस्था गरिएको छ। हाल डा. शर्मा आफ्नो क्षेत्रको विभिन्न कार्यक्रममा सहभागी हुन मोरङमै रहेका छन्।

दुर्घटनापछिको विषम परिस्थितिमा स्थानिय र जनप्रतिनिधिको सक्रियताले राजबंशीको उपचारमा सहजता ल्याएको छ। नोबेल अस्पतालमा उनको उपचार भइरहेको र अवस्था खतरामुक्त बनाउने प्रयास जारी रहेको अस्पताल स्रोतले जनाएको छ।