विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो ६ दिनमा लगातार ६ वटा मोटरसाइकल चोरी भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले २ जनालाई मङ्गलवार बेलुका पक्राउ गरेको हो।
कोशी अस्पताल आसपासबाट मात्रै तीन वटा मोटरसाइकल चोरी भएको थियो। मङ्गलवार अस्पतालबाटै चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले भारतसँगको सीमावर्ती क्षेत्रबाट २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर– १७ का २५ वर्षीय महम्मद मियाँ र सोही स्थानका १७ वर्षीय बालक छन्। गिरोहको अन्य सदस्यको पनि प्रहरीले खोजी गरिरहेको छ।
यो समूहले विराटनगरबाट मोटरसाइकल चोरी गरी भारतमा लगेर बिक्री गर्दै आएको थियो। मङ्गलवार दिउँसो चोरीको मोटरसाइकल भारत पुर्याएर फर्किएका दुई जनाले अर्को मोटरसाइकल पनि चोरी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।